

यस्तो लोग्नेसँग कसरी जीवन काट्नु? जवानीलाई सार्थक बनाउने अंग नै छैन। त्यति मिठो प्रेम गरेर विवाह गरेको, छोडौँ पनि कसरी? बसेर पनि त अर्थ छैन, जीवनमा रंग भरिने अब रत्तिभर आस छैन। पच्चीस बर्षे यौवनको भर्भराउँदो आगोमा घिउ थप्नेबाहेक दुई थोपा पानी चुहाउने हुति पनि अब उसमा रहेन। चिसिएर आफैँ डाँडोमुनि भासिएको सूर्य झैँ निस्तेज हुने भोे जिन्दगी।
ऊ एकोहोरो सोचमग्न बनी।
अस्पतालको बेडमा मस्तनिन्द्रामा परेको लोग्नेलाई उसले फेरि टोलाउँदै हेरी। अनुहार पहिलेजस्तै मायालाग्दो छ। निन्द्रामै हात लम्काएर अंगालो मार्ने उसको बानी अझै हटेको छैन। सबैजसो बिरामी र कुरुवा शान्तभावमा सुतिरहेका छन्। उसलाई भने भित्रैदेखि उर्लिएको डाहाले छटपटी भइरहेको छ। दुर्घटनामा बाँचेका थोरैमध्ये आप्mनो लोग्ने पनि भएकोमा उसले ठूलो भाग्य ठानेकी छ। तर, ऊसँगको आप्mनो जीवनको सार्थकता भने देख्दैन। भावशून्यहुँदै रातको अन्तिम प्रहरमा लोग्नेको हात समाएकै अबस्थामा ऊ निदाई।
बिहान सात नबज्दै भिजिटरहरु आए। फेरि घटनाका बिबरणहरु दोहोरिन थाले। त्यत्रो दुर्घटनामा तीनजना मात्र बाँचे। अझै एकजना भेन्टिलेटरमा घिटिघिटी गरिरहेको छ। अरु ३२ जना त पानी पनि खान नपाई ठाउँका ठाउँ गएछन्। भिरबाट खस्दा बस त कच्याककुचुक डल्लो परेछ। कतिको त हातखुट्टै छैनन् रे। तिम्रा पतिलाई त वास्तवमा केही भएन, भगवान्ले हात थापे। भाग्यमानी रहिछ्यौ।...यस्तै यस्तै।
तर उसको बेथा अरुलाई के थाहा? बस पल्टँदा उछिट्टिएर रुखमा अल्झिएर बाँचेको उनको पति हेर्दा केही नभएजस्तो लाग्छ। तर प्रजनन् अंगमा क्षति पुगेर नशा सुक्दै माथितिर सरेको थियो। यसले जीवन नै खतरा पर्ने भएपछि डाक्टरले जनेन्द्रिय काट्ने निर्णय गरे। त्यसबेला जसरी पनि उसलाई बचाउनु पर्छ भन्ने भयो। जहाँ जे काटे पनि उसलाई जीवित हेर्ने चाहना सबैको थियो। लामो अपरेसनपछि सुक्दैगएको जनेन्द्रिय काटियो। उनी बाँचे। अहिले स्वस्थ बन्दैछन्। डाक्टरले डिस्चार्जको कुरा पनि गरिसके। तर यो कुराले उनलाई खुसीसँगै दुखित पनि तुल्याइरहेको छ। घर जाने समय जतिजति नजिकिदैछ, उनको मनभित्र उर्लिएको औडाहाको बेग पनि तीब्र हुँदै जान्छ। सम्झनासाथ झसङ्ग हुन्छ र निकै बेरसम्म मुटु ढुकढुकिइरहन्छ।
बिहान नास्ता खाएपछि उसले लोग्नेलाई हात समातेर एकछिन चउरमा हिँडाई। लोग्ने निकै हलुकासँग हिँडेको अनुभव गरी। मुखामुख गरे तर निकै बेर दुबैको बोली फुटेन। कलेज जीवनमा यसैगरी हात समातेर हिँडेको, उसले लाज मानेको सम्झना लोग्नेले सुनायो। रुखमा छलिएर अंकमाल गर्दा दुबैको गाला रन्किएको र असिनपसिनहुँदै घरतिर लागेको सम्झना गरेर लोग्नेले हँसाउन खोज्यो। तर उसले फिस्स गरेर बनावटी हाँसोमै टारी। उसको मनमा अर्कै उथलपुथल थियो। लोग्नेले सायद विचारै गरेको थिएन। भन्न पनि सहज थिएन। उसले जतिसुकै नरम बोले पनि लोग्नेको मुटुमा धारिलो तीर झैँ प्रहार हुने पक्का थियो। भर्खर तङ्ग्रिदैगरेको लोग्नेलाई आपूmभित्र कुनै कुण्ठा उर्लिदै छ भन्ने जनाउ दिन उसले उचित ठानिन।
राउण्डमा आएका डाक्टरले प्रोग्रेस राम्रो छ, अब जाने मनस्थिति बनाए हुन्छ भने। श्रीमतीलाई हेरेर ऊ मुस्कुरायो। टाउको उठाएर थ्याङ्क्यु डाक्टर भन्यो। तर श्रीमतीमा खुसीको छनकसम्म आएन। ऊ बरु झस्के झैँ गरी। उसको अनुहारको प्रतिक्रियालाई डाक्टरले नोटिससम्म गरे तर केही भनेनन्। भोलि डिस्चार्ज गर्न सकिन्छ भनेर हिँडे।
समय घर्किंदैगएको थियो। ऊ बिभिन्न बिकल्प सोच्न थाली। उपचारबाटै उसको अंग उमार्न सकिन्छ कि भन्ने जिज्ञासा पनि मनमा आयो। अंग प्रत्यारोपणको कुरा उसले सुनेकी थिई। एक पटक डाक्टरसँग सल्लाह गर्ने निर्णयमा पुगी। उसको मनमा कौतुहलता र आशायुक्त भावना छचल्किन थाले। ऊ सोझै डाक्टरको क्याबिनमा पुगी। अप्ठेरो मान्दै आप्mना कुरा राखी। डाक्टरले गम्भिरहुँदै भने, ‘लिंग प्रत्यारोपण गर्न असम्भव त छैन। कोशिस गर्न सकिन्छ। तर, ग्यारेन्टी गर्न भने सकिन्न। असफलतामा नै पनि तपाईंको ठूलो धनराशी खर्च हुन सक्छ।’
डाक्टरको कुराले ऊ हौसिई।
‘जति पनि खर्च गर्न तयार छु,’ उसले बेहोसीमै भनी।
ऊ धेरै ठूलो आर्थिक हैसियत भए कि त होइन, तर सिंगो जीवन र आप्mनो इज्जत लिलामी नहुने हदसम्म त्याग गर्न तयार थिई। उसको जिज्ञासा र अठोटले डाक्टरलाई पनि उत्साहित पा¥यो।
‘छलफल गरेर साँझसम्म हाम्रो टिमले तपाईंलाई केही जबाफ दिन सक्छ’ भन्ने डाक्टरको जबाफले ऊ निकै प्रफुल्लहुँदै लोग्नेकहाँ पुगी र बिबरण सुनाई। पत्नीको कुराले लोग्ने अकमकियो। केहीबेर बोल्न सकेन। आत्मग्लानिको भाव देखायो। अन्त्यमा हँसिलो चेहरा पारेर भन्यो, ‘यस्तो भयो भने त निकै राम्रो हुन्थ्यो। म त अब धर्मपुत्र पाल्नु पर्ला भनेर सोचिरहेको थिएँ।’
साँझमा डाक्टरको टोली बेडमै आइपुग्यो। उनीहरुले निर्णय सुनाए, बे्रनडेथ भएको मानिसको यौनाङ्ग निकालेर प्रत्यारोपण गर्न सकिन्छ। यसका लागि केही समय लाग्न सक्छ र दाताको परिवारसँग स्वीकृति लिनुपर्ने हुन्छ। यो नयाँ काम भएकाले आधा खर्च अस्पतालले व्यहोर्छ आधा खर्चका लागि तपाईं तयार हुनुहुन्छ?
अनुमानित खर्चसहित डाक्टरले स्पष्ट निर्णय सुनाए ।
पत्नीले यस किसिमको भावना व्यक्त गरिसकेपछि लोग्नेले नाईँ भन्न सकेन। उसलाई लाग्यो, ‘म बाँचे, तर उसको जैविक इच्छा त पूरा गर्न सक्तिनँ। यसरी कति दिन चल्ला? म उसको पछि लागेर हिँड्ने कुरा पनि भएन। मैले नदेखेर के गर्ने? समाजका कसैले त देख्ला, कुरा काट्ला। त्यसपछि म कसरी खप्न सक्छु? बरु प्रत्यारोपण गर्नु नै ठीक होला।’
उसले आप्mनो निस्कर्ष डाक्टरलाई सुनायो। जबाफले पत्नीलाई बढी खुसी तुल्यायो।
एक महिनापछि दाता फेला परे। दुर्घटनामा घाइते भई बे्रन डेथ भएका तीस बर्षीय युवकको यौनाङ्ग दान हुने भयो। डाक्टरको टोलीले सफलतापूर्वक अंग प्रत्यारोपण गरिदिए।
दुई महिनापछि बिभिन्न परीक्षण गरेर प्रत्यारोपण गरिएको अंगको अबस्था जाँच गरियो। पिसाब फेर्ने काममा तुरुन्तै सफलता मिल्यो। अब यौनसम्पर्कका लागि के हुन्छ भन्ने कौतुहलता थियो। उसलाई ल्याबमा लगेर बिभिन्न परीक्षण गरियो। तहगतरुपमा बिभिन्न उत्तेजक तस्बिर र भिडिओहरु देखाइयो। उसका हरेक अंगले सामान्य मानिसको जस्तै प्रतिक्रिया दिए। यौनसम्पर्क मात्र होइन सन्तान उत्पादनप्रक्रियामा समेत ऊ सक्षम भएको निष्कर्षमा डाक्टरहरु पुगे। र, पत्नीलाई बधाई दिँदै भोलि नै डिस्चार्ज भएर जान सकिने जनाउ दिए।
सफलताको खुसीले उसलाई उकुसमुकुुस बनायो। अस्पतालको बेडमा पुग्नासाथ पहिले लोग्नेलाई अंगालो हाली र निकैबेर हर्षका आँसु खसालेर रोई। त्यसपछि आप्ना निकट साथीहरुलाई फोन गरी। सबैले बधाई दिए। सुहागरातको शुभकामना भनेर जिस्क्याउन पनि भ्याए। आधारातसम्म अस्पतालमा लोग्नेको बेडछेउ बसेर अनेक खुसीका क्षण सम्झदै बिताई। ऊ भोलि डिस्चार्ज भएर घर जाने कुरामा निकै अधैर्य बनिरहेकी थिई।
मध्यरातपछि एकाएक उसको मनमा अर्कै तर्कना उठे। उसको मनले दोष देख्न थाल्यो। ऊ निकै छटपटाई। मनमा अनेकौँ ज्वारभाटा उठे। उसले आपूmलाई सम्हाल्नै सकिन। उसलाई लाग्यो, यो लोग्ने मेरो हो। उसको अंगालो, स्पर्श, सुमसुम्याई र गहिरो चुम्बनका लागि ऊ पर्खिरहेकी छे। तर उसको शरीरभित्र समाहित हुने यौनाङ्ग त लोग्नेको होइन। मृत्युशय्यामा पुगेको कुनै अपरिचित युवकको हो। त्यसलाई कसरी स्वीकारुँ? अहँ यो हुन सक्तैन। बरु नभएकै ठीक। भोलि घर पुगेपछि ऊ मसँग संसर्ग गर्न आउँछ, त्यसबेला मैले रोक्न सक्तिनँ। अब के गरौँ?
ऊ गहिरो विरोधाभासमा छटपटिदै निदाई।
भोलिपल्ट बिहान लोग्ने घर जान उत्साहित भएर तयार हुँदैथियो। तर पत्नीचाहिँ त्यो सफलताको कथालाई अस्पतालकै रेकर्डमा सीमित राख्ने निर्णयसाथ डाक्टरको क्याबिनतिर गह्रौँ पाइला चाल्दै गई।
0 comments:
Post a Comment